रास्वपाकी सह–महामन्त्री सुमना श्रेष्ठले दिइन पदबाट राजीनामा


नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । उनको राजीनामाले रास्वपाभित्र हलचल ल्याएको छ । पार्टीका कतिपय विधि र प्रक्रियासँग असन्तुष्टि राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् । एक व्यक्ति एक पदको अवधारणाअनुसार आफू प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेर काम गर्ने उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । तर पनि उनले राजीनामा पत्रमा पार्टीको विधि, प्रक्रिया र निर्णयमा असन्तुष्टि राखेकी छन् ।
उनले पार्टीमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुनेगरेको, उक्त निर्णय आधिकारिक स्रोतबाट नभएर अरु कसैबाट थाहा पाउनुपरेको उल्लेख गरेकी छन् । पार्टीभित्रको यस प्रकारको गतिविधिले पदको कुनै वजन नै नभएको महशुस गराएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । ‘पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ,’– उनले राजीनामा पत्रमा भनेकी छन् ।
उनको राजिनामापछि रास्वपाका कतिपय नेताले ‘पार्टी अप्ठेरो अवस्थामा रहेका बेलाको स्टन्ट’ भन्ने प्रतिक्रिया दिएका छन् । यसले सभापति रवि लामिछानेसहित अन्य नेताहरुलाई समेत अप्ठेरोमा पारेको ती नेताहरूको निष्कर्ष छ । उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने उल्लेख गरेकी छन् । “यसबाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छँदैछ । पार्टीको सहमहामन्त्रीको रुपमा पार्टी संगठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रुपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन ।”
उनले राजीनामा पत्रमा आफू हालसालै देश दौडाहामा रहेका बेला पार्टीप्रतिको आशा नदेखेको बताउँदै भनेकी छन्, “पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारामात्रै अघि बढायौँ । पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरु सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले सो काम सुरु नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ ।”