राप्रपाले निषेधित क्षेत्रमा आन्दोलन गर्ने, मिश्र र राणालगायतलाई तत्काल रिहाइ गर्न माग

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए । उनका अनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णयसमेत भएको जानकारी दिए ।
उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको उनले बताए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाइका लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको पनि बताए ।

त्यस्तै बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आफ्ना नेताको रिहाइका लागि कानुनी तथा राजनीतिक दुवै लडाइँलाई सशक्तरूपमा लैजाने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए । उनले पार्टीका सबै आन्दोलनका कार्यक्रमलाई व्यवस्थित गर्न विशेष कमिटी बनाउने निर्णय भएको बताए । उनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको धारणा राखे । निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *