विदेशबाट आएका युवालाई कुटपिट गर्ने 3 प्रहरीमाथि छानबिन हुने

नेपाल दर्पण, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने तीनजना प्रहरी कर्मचारीमाथि छानबिन हुने भएको छ । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुव्र्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको हो । चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई उनीहरूले हातपात गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

सोही भिडियोका आधारमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षागार्डबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन थालिएको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए । प्रहरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेका थिए । लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादको विषयमा आफूमाथि दुव्र्यवहार भएको सञ्जयले बताएका छन् ।

उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए । ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए । आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुव्र्यवहार गरेको उनको गुनासो थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो । साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *