दुर्गा प्रसाईं र उनका बडिगार्डलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति

नेपाल दर्पण, काठमाडौं ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए ।

प्रसाईं तीनकुने घटनाका मुख्य नाइके हुन् । उनीमाथि राज्य विरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो ।

यता प्रसाई पक्राउ परेपछि नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य नागिना यादवले दुर्गा प्रसाईँले अराजकता मच्चाएको भन्दै संसदीय समितिमा आक्रोश व्यक्त गरेकी छन् । आज (शुक्रबार) बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैंठकमा आफ्नो धारणा राख्दै उनले आफू मन्त्री भएको भए त्यस्तो बेला ‘मार्देउ’ भनेर नै आदेश दिने उनले धारणा राखिन् ।

आफ्नो धारणा राख्ने क्रममा आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘निधेषित घोषणा गरिएको एरिया पनि जबरजस्ती क्रश गरिएको छ । मैले बोल्न मिल्छ कि मिल्दैन भन्न त म सक्दिनँ । यदि त्यो बेलामा म आफैं मन्त्री भएको भए सुट गर्दैउ भनेर आदेश दिन्थेँ । त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने ? कहाँसम्मको नैतिककता हो ? उसले गर्न खोजेको के हो ? उ सर्वोपरी हो ? जे बोलेपनि भयो, जे गरेपनि भयो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *