देशभरका शिक्षकहरू प्रदर्शनमा उत्रिए, सरकार रमिते


नेपाल दर्पण, काठमाडौं ।
देशभरका शिक्षकहरू काठमाडौँको मण्डलामा प्रदर्शनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौंमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ’विगतमा भएका ’सम्झौता कार्यान्वयन गर’, ’शिक्षा ऐन जारी गर,’हाम्रो माग पूरा गर’,’शिक्षक पेशालाई सम्मान गर,’लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा उक्त आन्दोलन भएको हो । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो । तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरू गरेको हो ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत दिएको छ । शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भइ छलफलका क्रममा छ । विधेयकमा रहेका कतिपय प्रावधानमा शिक्षकहरुको असहमति छ । तर सरकारले यसप्रति ध्यान दिएको देखिदैन रमिता हेरेर बसेको छ ।