पूर्वराजा विरुद्ध जुरमुराए गणतन्त्रवादी, तीनकुनेमा भएको घटनाको सारा दोष राजालाई

नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल भएको थियो । आइतबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका हुन् ।

गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको सबै दलले भत्र्सना गरेको बताए । उनले संविधान समाप्त गर्ने खेलमा पू्र्वाराजा ज्ञानेन्द्र लागेको दलहरूको आरोप रहेको बताए । दलका नेताहरूले पूर्वराजालाई कारबाही गर्नुपर्ने आग्रह गरेको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि भइरहेको षडयन्त्रमाथि दलहरूबीच छलफल भयो । धेरै लामो संघर्ष र बलिदालीपछि यो व्यवस्था आएको छ । त्यसकारण यो संविधानको रक्षा गर्ने कुरामा हामी सबै एकमत छौं । यसै व्यवस्थाको माध्यमबाट नागरिकलाई थप सुविधा र समृद्धिमा लैजान सकिने निष्कर्ष निकाल्यौं । तर, व्यवस्था उल्ट्याउने र संविधान समाप्त गर्ने गतिविधिलाई सामान्य मान्न सकिँदैन । चैत १५ गते बर्बरतापूर्वक भएको घटनाका दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने सबै दल एकमत छन्,’ गृहमन्त्री लेखकले भने ।

उनले फागुन ७ गतेपछि पूर्वराजा ज्ञानेन्द्रले संविधान विपरीत गतिविधिमा लागेको आरोप लगाए । ‘फागुन ७ गतेपछि पूर्वराजाले जुनखालका गतिविधि गरेका छन् । र, चैत १५ मा जुन हिंसात्मक घटना घटाइएको छ । संविधान विरोधी त्यस्ता गतिविधि सह्य छैन। क्षम्य हुँदैन,’ उनले भने । बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *