कुलमानलाई बर्खास्त गर्ने निर्णयको चौतर्फी विरोध, ओलीको पुत्ला जलाइयो


नेपाल दर्पण, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । यसैक्रममा घिसिङलाई हटाइएको विरोधमा मंगलबार (चैत १२) माइतीघरमा प्रदर्शन गरिएको छ । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो ।


घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घिसिङको पक्षमा नारा लगाएका थिए । घिसिङ समर्थकले ‘भ्रष्ट सरकार चाहिँदैन, लोडसेडिङ गर्न पाइँदैन,’ ‘ऊर्जामन्त्री राजीनामा देऊ’लगायत नारा लगाएका थिए ।


कुलमानलाई हटाइएको विषयमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतले कडा टिप्पणी र आलोचना गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु र महामन्त्रीद्वय समेतले सरकारले गलत कार्य गरेको बताइसकेका छन् ।


त्यस्तै, विभिन्न विद्यार्थी संगठन, विभिन्न दलका जनवर्गीय संगठनहरुले पनि आन्दोलन चर्काउने चेतावनी दिइरहेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज विहाननै उर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला दहन गरिसकेको छ । माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले पनि आज दिउँसो साढे ३ बजे वृहत प्रदर्शन गर्दैछन् ।


मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका सालो हुन् । घिसिङको कार्यकाल आगामी असारमा सकिँदै थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको र जनतामा चरम निराशा छाएको अवस्थामा कुशल प्रशासकको रुपमा कहलिएका घिसिङलाई हटाउनु सरकारको लागि प्रतिउत्पादक बन्ने खतरा बढिरहेको छ ।