एमालेको दादागिरी यथावत, राप्रपाले तिर्यो महानगरलाई एक लाख जरिवाना

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना तिरेको छ । महानगरले जरिवानापत्र बुझाएको २४ घण्टा नपुग्दै आज सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत महानगरको कार्यालयमै पुगेर जरिवाना बुझाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका सार्वजनिक क्षेत्रमा फोहोरमैला गरेको र भौतिक संरचनामा पनि क्षति पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो । राप्रपा नेता ज्ञानेन्द्र शाहीले आफूहरू पनि मान्छे भएको र विधिको शासन पालना गर्ने बताएका छन् ।

महानगरमा जरिवाना तिरेपछि उनले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुबा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं । एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं ।’ राप्रपा नेता कार्यकर्ताहरूले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड, बिरुवा र रेलिङमा भौतिक क्षति पु¥याएको उल्लेख थियो । महानगरलाई एक लाख जरिवाना बुझाएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको राय व्यक्त गरेका छन् । महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले ज्ञानेन्द्र शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको बताए । “आज उहाँहरू आएर एक लाख जरिवाना बुझाउनुभयो,” भण्डारीले भने । राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० चैत्र २७ गते राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । सो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।

२४ घण्टाभित्रै राप्रपाले जरिवाना बुझाउँदा सत्तारुढ नेकपा एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन । गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन् । एमलेले महानगरले तोकेको जरिवाना नतिर्ने अडान लिएको छ ।

एमाले नेता तथा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वमन्त्री महेश बस्नेतले बालेन पूर्वाग्रही बनेको बताएका थिए । एमालेविरुद्ध बालेन परिचालित भएको आरोप नै नेताहरूले लगाएका थिए । एमाले नेता महेश बस्नेतले मेयर बालेनले एमालेबाट एक लाख भिख मागेको समेत आरोप लगाए । बस्नेतले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत रहेको टिप्पणी गरेका थिए । पछिल्लो समय मेयर बालेन र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक–अर्काविरुद्ध शब्द प्रहार गरिरहेका छन् । बालेनले फेसबुकमार्फत ओली नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन् । ओलीले पनि आफ्ना भाषणहरूमा बालेनको शैलीप्रति टिप्पणी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *