ज्ञानेन्द्रलाई ओलीको चुनौतीः शासन गर्ने हो भने चुनावमा प्रतिष्पर्धा गर

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र नफर्कने बताएका छन । उनले पूर्व राजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । यतिमात्रै हैन, ओलीले ज्ञानेन्द्रलाई शासन गर्ने हो भने दलहरुसँग निर्वाचनमा प्रतिष्पर्धा गर्र्न चुनौती दिएका छन् । उनले नेपाली जनताले फालेको राजतन्त्र पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको आरोप लगाए । उनले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे ।

उनले पूर्वराजालाई आफू जनतामाझ लोकप्रिय छु भन्ने लागेको भए निर्वाचनमा लड्न चुनौति दिए । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर चुनाव लड्न पनि उनले पूर्वराजालाई चुनौती दिए । ‘अब हुँदाहुँदा हिजो कि अस्ति हो– उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर, कहाँबाट उधिनेर ल्याउने हो ? कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईँहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो?’ प्रधानमन्त्री ओलीले भने, ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस आउनुस् पार्टी खोल्नुस् । एउटा छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् । तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि ! आउनुस् चुनाव लड्नुसु, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न ।’

अब नेपालमा जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने उनले बताए । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको उल्लेख गर्न पनि उनले बाँकी राखेनन् । ‘अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अफ्ठ्यारो प¥यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने । अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन्। राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् ।’ बलमिच्याइँ र अराजकताको बाटोबाट सिंहासनमा बस्छु भनेर नठान्न पनि उनले पूर्वराजालाई चेतावनी दिए ।

‘सबैलाई अधिकार छ, सबै समान छन् भन्ने मान्नुस्। फेरि राजा भएर रैती बनाउँछु, फेरि २ सय कति वर्ष, फेरि खान्छु भन्ने नसोच्नुस’ प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक लोकतान्त्रिक बाटोबाट विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याईं, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।’ आज महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले उक्त कुरा भनेका हुन ।

ओलीले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए । ’अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।’ प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताए। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *