ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति


नेपाल दर्पण, काठमाडौं ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबिच ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ । दुबैबीच पाँच बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो ।”
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो । कमिसन बढाउने सहमति भए पनि तत्काल उपभोक्ता मूल्य भने नबढ्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विगत ६ वर्षदेखि कमिसन वृद्धि नभएपछि बिक्रेताले पीडीओ उठाउन मानेका थिएनन् ।
सरकारले खाना पकाउने एलपी ग्यासमा सहुलियत दिइरहेको छ । जसअनुसार सरकारलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । संघको कमिसन थपिँदा उक्त घाटा ३४२ रुपैयाँ ७५ रुपैयाँ पुग्ने उनको भनाइ छ । संघले आन्दोलन सुरु गरेपछि सरकारसँग मंगलबार सहमति भएको ठाकुरले जानकारी दिए । सहमतिपछि एलपी ग्यास उद्योग संघले आन्दोलन फिर्ता लिएको छ ।