बालेनले ओलीलाई भने ‘मलाई हराउने ताकमा, देश नडुबाउनु’


नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि आक्रोश पोखेका छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै फेसबुक स्टाटस लेख्दै आएका छन् । र यसपटक पनि फेसबुकमा लामो समयदेखि काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाएपछि ओलिमाथि आक्रोश पोखेका हुन् । उनले आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे भएको उल्लेख गरेका छन् । आफूलाई हराउने चक्करमा देश नडुबाउन उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नुभएको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे । मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला,’ उनले फेसबुकमा भनेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाको विकासलगायत आयोजनाहरू काम ठप्प भएको छ। मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत माग गर्दै सरकारलाई चिठी लखे पनि हालसम्म पनि नपाएपछि सामाजिक सञ्जालमा आक्रोश पोखेको हुनसक्ने बताइएको छ ।
बालेनको स्टाट्सपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत किन टिक्दैनन् भन्ने विषय मेयर बालेनले बुझ्नुपर्ने तर्क गरेका छन् । उनले महानगरपालिकाको सेव प्रवाह रोक्न नहुने उल्लेख गरेका छन् ।
एक साताअघि पनि उनले स्टाटसमार्फत आफूलाई नेपाली भएर बाँच्ने आधार त दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । उनले लेखेका थिए– प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस ।