वर्तमान सरकार जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस गर्दैछः प्रचण्ड

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस गरिरहेको टिप्पणी गरेका छन् । जनताले पाएका जेजति उपलब्धी छन्, संविधानबाट ती उपलब्धी खोस्ने दुस्साहस पनि गर्दैछन् । यो परिस्थितिमा हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदा प्रतिकृयावादीहरु, दलालहरु, भ्रष्ट तत्वहरु हाबी हुने खतरा देखियो,’– अध्यक्ष प्रचण्डले भने ।

आफूले सरकारको नेतृत्व गर्दैगर्दा भ्रष्टाचारीहरुको विरुद्ध, सुशासनको पक्षमा, सामाजिक विभेद, अन्यायको विरुद्धमा, सामाजिक न्यायको पक्षमा र आर्थिक सुधारको पक्षमा काम उनले गरेको बताए । अहिले सदनमा भ्रष्टाचारी र भ्रष्टाचारलाई संरक्षण गर्न चाहने, विचार र तत्वहरु एकातिर र भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर र जनताको पहिचानको पक्षधर आफूहरु अर्कोतिर रहेको उनले बताए । आज (बिहीबार) सुनसरीको गढी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

यस्तै, दाहाल ‘प्रचण्ड’ले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनको दाबी छ ।

सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेश जागरण अभियान थालिएको जानकारी दिँदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रूपमा अघि बढाउने बताए । हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गरेका थिए । बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्नेमा उनीहरूको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *