कांग्रेस कमजोर भन्दै शेखर कोइरालाले भने रवि ठगनै हुन


नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् । उनले लामिछानेले सहकारीको रकम ठगेको विषयमा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्नेमा जोड दिए । तर, लामिछानेमाथि भएको मानवअधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उनले बताए । मानवअधिकारको विषय नबुझ्नेहरू कांग्रेसी नहुने उनको भनाइ थियो ।
सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पु¥याइएको घटनाप्रति उनले आपत्ति जनाए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे । “कांग्रेसीहरूले जबसम्म मानवअधिकारका कुराहरू बुझ्दैनौँ, तबसम्म हामी कांग्रेसी हुँदैनौँ,” उनले भने, “ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर, त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि, राति उठाएर लगिदिने पोखरा र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्सन लिन सक्दैनौँ । किन लगेको थियो त ?”
शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो । ०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरुले साथीहरुलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुप¥यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुप¥यो । दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ । राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ कि भन्ने हो। त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ ।’ सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताए ।