वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले मुख खोलेः माओवादी


नेपाल दर्पण, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको बताएका छन । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनको भनाइ छ । स्मरण रहोस, प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै राजगद्दी जनताका लागि छोडेको र त्यसलाई कमजोर नठान्न राजनीतिक दललाई चेतावनी दिएका थिए। पूर्वराजा शाहले राष्ट्र र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान समेत गरेका थिए ।
यस्तै, नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेका हुन् । सबैभन्दा बढि प्रभावकारी हुनुपर्ने संस्था सदन भएपनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उनले बताए ।
प्रवक्ता सापकोटाले दुई तिहाईको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए । उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुनेगरी आएको समेत बताए । सापकोटाले सरकारका सबै क्रियाकपाल हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे । सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए ।