पूर्वराजाबाट आएको अभिव्यक्तिको जवाफ राजनीतिमा सुधार गरेर दिनुपर्छःगगन थापा


नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लोपटक पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनीतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताएका छन । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै राजगद्दी जनताका लागि छोडेको र त्यसलाई कमजोर नठान्न राजनीतिक दललाई चेतावनी दिएका थिए ।
राजाकोे खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए । महामन्त्री थापाले लोकतन्त्रको विकल्प खोज्नु भनेको नागरिकप्रतिको भरोसालाई गिज्याउनुसरह भएको बताए । पूर्वराजा शाहले राष्ट्र र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान समेत गरेका थिए ।
यस्तै, थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरू भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेका हुन् । अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे । महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे ।