घरेलु मैदानमा लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

नेपाल दर्पण, काठमाडौं ।

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहीबार दरशथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले पराजित गरेको हो । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले निर्णायक गोल गरेकी थिइन् । खेलको ४२औं मिनेटमा साम्बाले प्रहार गरेको बल विपक्षी खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

घरेलु मैदानमा लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । नेपालले यसअघि कीर्गिस्तानलाई १–० गोलले हराएको थियो । त्यस्तै म्यानमार पनि फाइनलमा प्रवेश गरेको छ । कीर्गिस्तानलाई ५–० गोलले हराउँदै म्यानमारले फाइनल सुनिश्चित गरेको हो। दुवै टिम एक खेल अगावै फाइनलमा प्रवेश गरेका हुन् । जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले अब लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालसँगै फाइनल प्रवेश गरिसकेको म्यानमारले एक–अर्काविरुद्ध उपाधिका निम्ति खेल्ने तय भइसकेको छ । यसअघि म्यानमारले आजै भएको पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ५–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *