रेखा गुप्ता बनिन दिल्लीको मुख्यमन्त्री

नेपाल दर्पण, न्यू दिल्ली ।

शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री बनेकी छिन् । उनले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी छिन् । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् । प्रवेश वर्माले उपमुख्यमन्त्रीको शपथ लिँदा अरुले मन्त्रीको शपथ लिएका हुन् ।

बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको थियो । शपथ ग्रहण गर्नुअघि रेखा गुप्ताले बिहीबार बिहान मिडियालाई भनिन्, ‘यो एउटा ठूलो जिम्मेवारी हो ।’ ममाथि विश्वास देखाउनुभएकोमा म प्रधानमन्त्री मोदी र पार्टी हाईकमान्डलाई धन्यवाद दिन्छु । मैले कहिल्यै सोचेको थिइनँ कि म दिल्लीको मुख्यमन्त्री बन्छु । म सिसाको दरबारमा बस्ने छैन ।
दिल्लीका मुख्यमन्त्रीको आधिकारिक निवासलाई भाजपाले शीशमहल नाम दिएको थियो । अरविन्द केजरीवालले यसलाई निर्माण गराएका थिए । केजरीवालले नियमहरूलाई बेवास्ता गरेर करोडौं रुपैयाँ खर्च गरेर यो भवन निर्माण गरेको भाजपाको आरोप छ । भाजपाले यसलाई चुनावी मुद्दा पनि बनाएको थियो ।

भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एकएक गरी कुरा गरेका थिए । यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो । हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो । दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *