केआईआईटीले माग्यो माफी, कजेलको चौकीदारले पनि नेपालीलाई हेप्योःरास्वपा

नेपाल दर्पण, काठमाडौं ।

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन् । केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ ।

‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ । दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ’,कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरेको थियो ।

यता, नेपालमा भारतको ओडीसाको एक विश्वविद्यालयमा भएको घटनालाई लिएर प्रतिनिधि सभामा कुरा उठेको छ । आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा छानबिनका लागि सरकारले प्रर्याप्त पहल नगरेको आरोप लगाउँदै नेपालको कूटनीतिक निकायको भूमिकामा प्रश्न उठाएका छन् ।

‘त्यो घटना एउटा विषेश घटनामा मात्र सीमित नरहेर म यसको प्रवृत्ति र आचरणमा जान चाहान्छु । हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो । छिमेकमा एउटा कलेजको चौकीदारले समेत हाम्रा नागरिकसमेत पिट्दिन थाल्यो । तिम्रो देशको बजेट मेरो कलेजको भन्दा पनि कम छ भनेर हेप्न पाए । दुई तिहाईको दम्भ सिंहदबार र सदनभन्दा बाहिर हाम्रा नागरिकले फिल गर्न पाएका रहेनछन् । हाम्रो कन्फिडेन्स त कतैपनि छैन् । सार्वजनिक सेवामा सुधार छैन् । छिमेकी देशमा हाम्रो नागरिकको आत्मसम्मान कतैपनि छैन’ उनले भने । आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *