नेपाली छात्राको मृत्युपछि उडिसाबाट निकालिए ५०० विद्यार्थी,सरकार कूटनीतिक सम्पर्क गर्दै


नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कूटनीतिक सम्पर्कमा रहेको बताएका छन् । सामाजिक संजालबाट प्रधानमन्त्री ओलीले एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको बताएका छन् । उनले भनेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
कलिंगा कलेजमा नेपाली छात्रा बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि त्यहाँको प्रशासनले नेपाली विद्यार्थीलाई निकालेको आरोप विद्यार्थीहरूले लगाएका छन् । अहिले विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बरजस्ती उठाएर रेल स्टेसनमा लागि छोडिएको खबर आएको छ । भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ । “नेपालबाट आएका ५०० भन्दा बढी विद्यार्थीहरूलाई बस चढ्न भनिएको थियो र विभिन्न रेलवे स्टेसनहरूमा छोडिएको थियो, जहाँबाट उनीहरूलाई घर फर्कन भनिएको थियो,” द इन्डियन एक्सप्रेसले आफ्नो समचारमा उल्लेख गरेको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद सुमना श्रेष्ठले भारतको केआईआईटीको होस्टलमा एकजना नेपाली विद्यार्थी मृत फेला परेको घटनासम्बन्धी आवाज उठाउन खोज्दा सभामुखले समय नदिएको बताएकी छन् । उनले आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय माग गरेकी थिइन् । उनका अनुसार आज बिहान भारतको केआईआईटीको होस्टलमा एकजना नेपाली विद्यार्थी मृत फेला परेपछि त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनी पठाएको बताइएको छ ।