प्रचण्डले राजासँग साँठगाँठ गरेको र गणतन्त्र ल्याउन कुनै योगदान नरहेको ओलीको आरोप

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गणतन्त्र ल्याउनमा कुनै योगदान नै नरहेको बताएका छन । यतिमात्रै हैन, उनले प्रचण्डले राजासँग सम्झौता गरेर, साँठगाँठ गरेर सहमति गरेको पनि बताएका छन । प्रचण्डले २०६० साल पुस १९ गते राति १ बजे दरबारमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौता गरेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘गणतन्त्रका लागि कहिले लडेका थियौं ? एमाले–कांग्रेस प्रजातान्त्रिक शक्तिहरुलाई सिध्याएर, सधैंका लागि राजा चाहिन्छ भनेर लिखित गरेको होईन ?’ प्रश्न गर्दै उनले भने ।

सत्ताबाट बाहिरिएपछि अहिले प्रचण्डले जे पायो त्यही बोल्दै हिँडेको पनि उनले टिप्पणी गरेका छन् । आज (सोमबार) दाङको घोराहीमा नेकपा (एमाले) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले विहानै, बेलुकै सरकार ढल्छ भनेर हिँडिरहेको बताएका हुन् । ‘सरकार ढल्छ’ भन्ने प्रचण्डको थेगो नै बनिसकेको उनको टिप्पणी छ । कांग्रेस र एमालेको वर्तमान समीकरण अब तीन वर्षसम्म चल्ने बताउँदै उनले विहानै बेलुकै सरकार ढल्ने कुरा नभट्याउन आग्रह गरे । ‘आजकाल माओवादी नेता प्रचण्डजी धेरै आत्तिनु भएको छ । के भएको हो उहाँलाई ? बोल्ने कुरा पनि बोल्नुहुन्छ, नबोल्ने कुरा पनि बोल्नुहुन्छ । जे पनि बोल्नुहुन्छ । अहिले नै सरकार जान्छ, भरे नै ढल्छ, राति नै ढल्छ भनेकोभन्यै हुनुहुन्छ,’– उनले भने ।

प्रधानमन्त्री ओलीले आफू राष्ट्रियता मजबुद बनाउन लागिपरेको बताए । उनले पूर्वप्रधानमन्त्री प्रचण्डलक्षित गर्दै विदेशीका लागि काम गर्ने तत्वहरुलाई किनारा लगाइने बताए । ‘अहिलेको समीकरण देशमा स्थिरता ल्याउन र देशलाई स्थिरता दिएर विकासको बाटोमा जान, हामी हाम्रो राष्ट्रियतालाई सुदृढ बनाउँछौं, बलियो बनाउँछौं । देशमा विकास आवश्यक छ, त्यसका लागि शान्ति, स्थिरता र स्थायित्व चाहिन्छ । हामी राष्ट्रियतालाई मजबुद बनाउँछौं । विदेशीका लागि काम गर्ने तत्वहरु किनारा लाग्छन् र लगाइन्छ । हाम्रो राष्ट्रियता हामीलाई प्यारो छ । हामीलाई विकास प्यारो छ,’– प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले बकवास नगर्न प्रचण्डलाई चेतावनी दिए । बढी बोल्दै गएको खण्डमा षड्यन्त्रहरु पर्दाफास गरिदिने उनको चेतावनी छ । ‘राजतन्त्र सधैं रहने, प्रचण्डलाई शासन बुझाउनुपर्ने, प्रचण्डले राजतन्त्रको रक्षा गर्ने, प्रचण्डले आफ्ना लडाकु राजाको पनि बनाइदिने सम्झौता गरेको होईन ? त्यस्ता निर्लज्ज मान्छेहरुले लोकतन्त्रको हामीलाई दुहाई दिने ? म तथ्यका आधारमा बोलिरहेको छु् । म प्रचण्डजीलाई भन्न चाहन्छु– यस्ता वकवास कुरा लाएर नहिँड्नुस्, अरु धेरै उहाँको षड्यन्त्रको पर्दाफास गर्न नपरोस्,’– ओलीले भने ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

6 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.