गिरीबन्धु टी प्रकरणमा ओलीलाई ७ दिनभित्र जवाफ पेश गर्न आदेश

नेपाल दर्पण, काठमाडौं ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले रिट निवेदकको मागबमोजिम कारबाही गर्नु नपर्ने कारण भए ७ दिनभित्र पेश गर्न भनेको हो ।

आइतबार (हिजो) सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सो मुद्दामा सुनुवाइ गर्दै सात दिनभित्र जवाफ पेश आदेश दिएको हो । लिखित जवाफ प्राप्त भए वा अवधि नाघेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०८० माघ २४ गते आदेश भएको मुद्दा नं. ०७८–डब्लूसी– ०००४ को उत्प्रेषण मुद्दाको सक्कल मिसिल (गिरीबन्धु टी स्टेट प्रकरण) साथै राखी पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता अर्यालले गत वर्ष माघ २४ गते भएको फैसला कार्यान्वयनमा अवरोध गरेको र फैसलाविपरीत हुनेगरी भूमिसम्बन्धी नयाँ अध्यादेश जारी गरेको निवेदनमा उल्लेख गरेका छन् । उनले गिरिबन्धु मुद्दाको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो पार्दै भूमाफिया र निर्माण व्यवसायीलाई पोस्ने प्रावधान ल्याएकाले प्रधानमन्त्री केपी ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि अदालतको अवहेलनामा कारबाही हुनुपर्ने दाबी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *