कांग्रेस नेताहरुको प्रश्न अबको सभापति को ? महाधिवेशन धकेल्ने खेलमा देउवा !

नेपाल दर्पण, काठमाडौं ।

लामो समयदेखि शेरबहादुर देउवालाई निरन्तर साथ र सहयोग गर्दै आइरहेका केहि नेपाली कांग्रेसका नेताहरूको एक समूह शुक्रबार बिहानै देउवा निवास बूढानीलकण्ठमा गएर अबको सभापति को बन्ने भनेर प्रश्न गरेका छन । उक्त समुहमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाण लगायत रहेका थिए ।

उक्त समूहको सर्पोर्टमानै देउवा २०७२ फागुनमा १३ औं महाधिवेशनबाट सभापति बनेका थिए । कांग्रेसको १० औं महाधिवेशनदेखि देउवा तत्कालीन संस्थापनसँग संघर्षमा थिए । उनै नेताहरूको सहयोगमा २०७८ मंसिरको महाधिवेशनमा पनि पार्टीभित्र आफ्नो प्रभुत्व कायमै राख्न सफल भएका पनि हुन । सभापति देउवाको कार्यकाल सकिन १० महिना बाँकी छ । विधानले नै अब देउवालाई तेस्रो कार्यकाल सभापति पदमा उम्मेदवार हुन दिँदैन ।

तर यता सभापति देउवाले अबको सभापति उम्मेदवार को हुन्छ भन्नेबारे केही कुरा खोलेका छैनन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठले दसैं महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका नेताहरू र सभापति देउवाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिएको बताए । देउवाले संस्थापन पक्षीय नेताहरुसँग पार्टीको महाधिवेशन एक वर्ष धकेल्नेबारे छलफल गरेका छन् । महाधिवेशनको तयारी सुरु नै नभएको भन्दै उनले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नेबारे आफूपक्षीय नेताहरुसँग सल्लाह मागेको बताइएको छ ।

बैठकमा सहभागी नेताहरुलाई सभापति देउवाले अहिले नै कुनै पनि पदमा उम्मेदवारी घोषणा गर्दै नहिँड्न सचेत गराए । पार्टीलाई एक ढिक्का बनाएर महाधिवेशनमा लानुपर्ने देउवाको धारणा रहेको बैठकमा सहभागी एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *