नेसपाको महाधिवेशन सुरु, अध्यक्षमा भिड्दै बाबुराम भट्टराई र नेत्र चापागाईं


नेपाल दर्पण, काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो । नेसपाको महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदै छन् । उनीहरूले ११ पदाधिकारीसहित ९९ केन्द्रीय सदस्य चयन गर्नेछन् । नेसपाले प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्षमा डा. बाबुराम भट्टराई निश्चित जस्तै भए पनि उनलाई समेत सर्वसम्मत हुन नदिने तयारी दोस्रो तहका नेताहरूको छ ।


अध्यक्षका लागि भट्टराईसँग प्रतिस्पर्धा गर्न नेत्र चापागाईंले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी नेसपाकै विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन् । चापागाईँले शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न आन्दोलन गर्दै आएका छन् । यसैगरी, महासचिवका आकांक्षी पनि धेरै छन् । वर्तमान प्रवक्ता कृष्ण शर्मा, अन्य नेताहरू जनक शाह, सोनामसिंह स्याङ्तान, जिएस गुरुङ, सुशील रिजाललगायत नेताहरू महासचिव पदका प्रमुख दाबेदार हुन् ।


सचिवमा बाबुरामकी छोरी मानुषीले उम्मेदवारी दिने चर्चा छ । यसैगरी, सिर्जना रिजाल पनि सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहे(को बताइएको छ । महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिनेछ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् । उनले भारतमा रहने प्रवासी सदस्यलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । पार्टीले समावेशिताको मर्मानुसार पदाधिकारी चयन गर्ने उनले जानकारी दिइन् ।


महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन् ।