संगठित अपराध मुद्दा नलगाएपछि न्यायाधिवक्ताको सरुवा


नेपाल दर्पण, काठमाडौं ।
चितवन जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई संगठित अपराध मुद्दाबाट उन्मुक्ति दिइएको छ । एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई र अर्का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ । प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो ।
यता, सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ । साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको आरोपमा लुइँटेललाई सरुवा गरिएको हो । ’मेरो सरुवा भएको छ । विषय साहारा सहकारी मुद्दा कै हो’ उनले भने अहिलेलाई यत्ति बुझ्नु होस् ।’ हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । छवि जोशीलाई संगठित अपराधमा जोड्दा रविलाई ठगीमा मात्र मुद्दा दायर गरिएको थियो ।
प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिएपनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको हो । ’एक भन्दा बढी संस्थामा आवद्ध भएका व्यक्तिलाई संगठित अपराधमा पनि मुद्दा चलाएका थियौँ’ लुइँटेलले भने ’एउटा मात्र संस्थामा आवद्ध भएको व्यक्तिलाई ठगीमा मुद्दा लागेका थियौँ। रवि एउटा मात्र साथमा आवद्ध भएपछि उस्को मुद्दा ठगीमा गयो ।’ १५ महिना चितवन बसेका लुइँटेलको सरुवा काठमाडौं भएको छ । यहाँ बुटवलबाट रवि न्यौपाने आउन लागेको उनले बताए ।