रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता


नेपाल दर्पण, काठमाडौं ।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । सोमवार नै उनीविरुद्ध मुद्दा दर्ता गर्न खोजिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध सहारा सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ । यो मुद्दा दर्तासँगै उनीविरुद्ध सहकारी प्रकरणमा ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ । यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भई उनीविरुद्ध मुद्दा चलिरहेको छ ।
रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको थियो भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो ।