बेलायतका राजकुमार एडवार्ड नेपाल भ्रमणमा

नेपाल दर्पण, काठमाडौं ।

बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन् । यसअघि आजै बिहान राजकुमार एडवार्डकी पत्नी सोफी काठमाडौं आइपुगेकी थिइन्। उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आइपुगेकी हुन् । उनीहरूसँग ११ जनाको टोली पनि काठमाडौं आइपुगेको हो ।

उनीहरू पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ । उनीहरू बेलायती राजा चाल्र्स तृतीयका भाई–बुहारी हुन् । राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो । राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *