रास्वपाले सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने


नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको माग गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले पार्टीको योजना सुनाउँदै यस्तो बताएका हुन् । सांसद वाग्लेले चर्चामा रहेका सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने योजना पनि सुनाए । “अब अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्नेवाला छौँ ।
“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,” उनले भने । भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,” उनले भने ।
वाग्लेले अहिले रास्वपा तेस्रो चरणबाट गुज्रिरहेको र आफूहरुमाथि भीषण एट्याक भैरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाको अब दिग्विजयको चौथो चरण चाँडै नै सुरु हुन लागेको उद्घोष गरे । उनले भने,‘अब चौथो चरणमा जाने कुरामा हामी पूर्ण आत्मविश्वसको साथ अघि बढिरहेका छौं ।’ उनले रवि लामिछानेमाथि लगाईएको निलम्बनप्रति आक्रोश पोखे । रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको उनको आरोप छ । उनले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकार पार्टी सभापति रवि लामिछानेमाथि खनिएर महत्वपूर्ण अवसर गुमाएको बताए ।