योगीको इजलासमा आज पनि लामिछानेको छुनछेक
नेपाल दर्पण, काठमाडौं ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू गरिन लागिएको छ । सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, त्यस दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।
इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडिँदै आएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।