सिद्धबाबा सुरुङमार्गको प्रधानमन्त्री ओलीले गरे ब्रेक थ्रु
नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गरेका छन् । ओलीले आज भर्चुअल माध्यमबाट सुरुङको उद्घाटन गरेका हुन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम थियो । यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो ।
यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।
स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।
यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए । ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ। हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।’