ओली सरकार लामो समय नचल्ने प्रचण्डको दाबी


नेपाल दर्पण, काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो सरकार लामो समय नचल्ने र माओवादी केन्द्र पनि सरकारमा नजाने बताएका छन । केही दिनअघि भरतपुर विमानस्थलमा कांग्रेस नेताहरूमा डा. शशांक कोइराला र डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पनि प्रचण्डले सरकार लामो समय नजाने बताएका थिए ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमालेभित्र पनि निकै ठूलो उकुसमुकुस देखिएको दावी गर्दै सरकार सामान्य ढंगले नभई जबरजस्ती चलाइएको जिकिर गरे । प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताएका हुन् ।
सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको पनि उनले बताए । पूर्व–प्रधानमन्त्रीसमेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए । आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उनको भनाइ छ ।