नेपालले समूहका सबै टिमसँग हार्यो, यू–१९ टी २० महिला विश्वकपको यात्रा समाप्त

नेपाल दर्पण, काठमाडौं ।

नेपालको विश्वकपको यात्रा समाप्त भएको छ । आज मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई ८३ रनले हराएपछि नेपालको यात्रा टुंगिएको हो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५६ रनमा रोकिएपछि ८३ रनले पराजित हुन पुगेको हो । योसँगै नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन् । लगातार तेस्रो हारसँगै नेपाल सुपरसिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो ।

नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन् । इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन् । नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन् ।

नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *