बामदेव गौतम एमालेमा र उनी निकट नेता माओवादीमा जाने

नेपाल दर्पण, काठमाडौं ।

केही दिनदेखि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयासमा रहेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम अन्तिम समयमा समाजवादीलाई धोका दिएर एमालेमा जाने भएका छन । उनी एमाले प्रवेश गर्ने निश्चित भएको बताईएको छ । लामो समयको रस्साकसीपछि गौतम नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरुलाई पार्टीमा फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । आज बिहान मात्र पनि ओलीसँग फोनमा कुरा गरेका उनलाई ओलीले एमालेले छिट्टै स्वागत गर्ने जवाफ दिएको स्रोतले जनाएको छ । एमाले प्रवेश गर्ने पटक–पटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए ।

पटक–पटक नेपालसँग कुराकानी गरेका उनले यसअघि समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको तर अरु जिम्मेवारी नटुंगिएको दाबी गरेका थिए । एकीकृत समाजवादीमा तेस्रो वरीयता र वरिष्ठ नेता बनेर जाने लगभग टुंगो लागेको दुवै दलले बताउँदै आएका थिए । केही चरणमा गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पनि गरेका थिए । एक दुई साताभित्र नै वामदेवलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी थियो । तर, केही कुरा मिल्न बाँकी रहँदा रहँदै गौतमा एमालेमा जान तयार भएका हुन् ।

“एकीकृत समाजवादीमा जाने नै मनस्थिति बनाएको पनि थिएँ । मेरा कुरा उहाँहरूले ग्रहण गर्नुभएन,” उनी भन्छन् । गौतमले पार्टी प्रवेश गर्न सक्रिय भूमिका माग गर्दै आएका छन् । ओलीले भने पहिले पार्टीमा आएपछि मात्रै जिम्मेवारी दिने वचन दिएका छन् । “धेरै साथीहरूले, घरपरिवारका साथीहरूले एमाले नै जानुपर्छ भनेपछि म एमालेमा जाने भएको छु,” उनी भन्छन्, “ओजीले पहिला आउनुस् न, यहाँ आएपछि सम्मान गर्छौं ? भन्नुभएको छ ।”एमालेका तत्कालीन उपाध्यक्ष गौमतले ०७८ भदौ १८ गते राजीनामा बुझाएका थिए । उनी तीन वर्षपछि फेरि एमाले फर्कन लागेका हुन् । केही दिनमा नै एमाले प्रवेश गर्ने उनको तयारी छ । उनी निकट केही नेता भने नेकपा (माओवादी केन्द्र) प्रवेशको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *