के भयो सन्दीपलाई, के भावुक स्टाटस लेख्दै लिन खोजेका हुन सन्यास ?
नेपाल दर्पण, काठमाडौं ।
नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन । तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’
यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनुपरेको थियो। तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् । सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए । सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी–२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीए लगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् ।