रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

नेपाल दर्पण, काठमाडौं ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए । दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो । आइतबार बयान सकिए पनि थुनछेक नभएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश भएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई रुप्रतिवादी कायम गरिएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन् । सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ । यस अगाडि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *