आज माघे सङ्क्रान्ति, थारू लगायत अन्य समुदायले मनाउँदै
नेपाल दर्पण, काठमाडौं ।
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रमा उल्लेख गरिएको धर्मशास्त्रीहरु बताउछन । माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्। यसैले यसलाई माघस्नान पनि भनिन्छ ।
माघे संक्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।