१ वर्षमा झण्डै १७ लाख नेपाली विदेशिए, ६६ हजार बढीले सदाका लागि देश छाडे
नेपाल दर्पण, काठमाडौं ।
गत १ वर्षमा झण्डै १७ लाख नेपाली विदेशिएका छन । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका हुन् । तीमध्ये स्थायी बसोबासकै लागि भनेर जानेको संख्या ६६ हजार ८३५ रहेको देखिएको छ ।
विदेश जानेमध्ये १२ लाख १६ हजार ५५७ जना पुरुष र ४ लाख ६७ हजार २५७ जना महिला छन् । विदेश जानेमा ७२.१० प्रतिशत पुरुष र २७.९० प्रतिशत महिला छन् । विभागको तथ्याङ्कअनुसार वर्ष २०२४ मा ६६ हजार ८३५ जना नेपाली स्थायी बसोबास गर्ने उद्देश्यले विदेश गएको देखिन्छ । अर्थात् उनीहरु सधैंको लागि देश छोडेका छन् ।
यसरी देश छोड्नेमा ३४ हजार ५४४ जना पुरुष र ३२ हजार २८७ जना महिला छन् । गत वर्ष परिवारका सदस्यसँग भेटघाट गर्ने उद्देश्यले १ लाख ३१ हजार ७९७ जना नेपाली विदश गएको देखिन्छ । यसरी जानेमा ५४ हजार ५३१ जना पुरुष थिए भने ७७ हजार २५७ जना महिला । परिवारका सदस्य भेटघाट गर्ने उदेश्यले विदेश जानेमा पुरुषको तुलनामा महिलाको संख्या ठूलो देखिन्छ । अस्थायी बसोबासको उदेश्यले वर्ष २०२४ मा १ लाख ८२७ जना नेपाली विदेश गएका थिए । तीमध्ये ५६ हजार २८१ जना पुरुष र ४४ हजार ५३६ जना महिला थिए ।
गतवर्ष पर्यटन तथा तिर्थाटन (भिजिट भिसामा) को उद्देश्यले २ लाख ७४ हजार ४२८ जना नेपाली विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ । भिजिट भिसिामा विदेश जानेमा १ लाख ५९ हजार ४३ जना पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् । वर्ष २०२४ मा रोजगारी खोज्दै अर्थात वर्किङ भिसामा ८ लाख ५६ हजार ४२२ जना विभिन्न देश गएको देखिन्छ । रोजगारीको लागि विदेश जानेमा ७ लाख ६९ हजार ८९० जना पुरूष छन् भने ९६ हजार १९७ जना महिला छन् ।
विभागको तथ्याङ्कअनुसार गत वर्ष डिपेन्डेन्ट भिसामा ३३ हजार ९०९ जना नेपाली विदेश गएका थिए । यसरी विदेश जानेमा १२ हजार ११४ जना पुरुष र २१ हजार ७९४ जना महिला छन् । डिपेन्डेन्ट भिसामा विदेश जानेमा पुरूषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । वर्ष २०२४ मा व्यापारिक उद्देश्यले २० हजार १०१ जना नेपाली विदेश गएका थिए ।