मनकामनाले मुम्बईमा मनायो पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती
नेपाल दर्पण, मुम्बई ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशको साथसाथै विदेशमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालका निर्माता तथा राष्ट्रनायक पृथ्वीनारायण शाहको जन्मजयन्ती हरेक वर्षझै यसवर्ष पनि मनकामना एकता फाउण्डेशनले मुम्बईको नजिकै मीरारोड स्थित आफ्नो कार्यालय तथा मनकामना मन्दिर प्रांगणमा मनाएको छ ।
उक्त कार्यक्रममा मनकामनाले चियापान समारोह समेत आयोजना गरेको थियो । उक्त चियापान समारोहमा फाउडेशनका विभिन्न पदाधिकारी तथा साधारण सदस्यहरुको गरिमामय उपस्थिती रहेको थियो । प्रवासको ठाउँमा यसरी पृथ्वी जयन्ती मनाउन पाउदा खुसी लागेको उपस्थितहरुले जनाएका थिए । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उपस्थित सबैले उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
सामाजिक कार्यकर्ता तथा फाउण्डेशनका फाउण्डर मेम्बर समेत रहेका चेतमान बोगटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अथिती समाजसेवी तथा काँग्रेस निकट नेजस भारतका वरिष्ठ पदाधिकारी खड्क सिँह बम रहेका थिए । अध्यक्ष तथा अतिथीले पृथ्वी नारायण शाहको पृष्ठभूमि तथा उनले नेपाल एकिकरणको लागि गरेको योदानको चर्चा गरेका थिए । गणतन्त्र आएपछि नेपालको स्थिती नेताहरुले दयनिय बनाएको र राष्ट्र र जनताको हितार्थ राजाको योगदान तथा राजा अभिभावकको रुपमा हुनुपर्ने उनीहरुको ठम्माई रहेको थियो ।
उक्त कार्यक्रममा मीनप्रसाद भण्डारी, चन्द्रकान्त भण्डारी, सरिता पैनी, होमप्रसाद पाण्डे, हस्तविर थापा, हेमा भण्डारी, लक्ष्मी भण्डारी, पुरुषोत्तम बस्याल, सीता न्यौपाने, रीमकला भण्डारी,, मीना क्षेत्री र उर्मिला क्षेत्री लगायतको उपस्थिती रहेको थियो । फाउण्डेशनका अध्यक्ष मोतीलाल न्यौपानेको अनुपस्थितीमा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव केशव काफ्लेले कुशलतापुर्वक गरेका थिए ।
स्मरण रहोस, तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राष्ट्रनिर्माताले त्यसबेला दिएका अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै देश विदेशमा पृथ्वी जयन्ती मनाउने प्रचलन बढ्दै गएको छ । उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।