कांग्रेस–एमालेविच खटपट, सरकार ढाल्ने तयारीमा प्रचण्ड
नेपाल दर्पण, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेटवार्ता भएको छ । भेटमा ‘प्रचण्ड’ले वर्तमान सरकार अब नचल्ने टिप्पणी गरेका छन् । “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” उनले भने ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्र हुने बताएपछि राजनीतिकवृत्तमा तरंग पैदा भएको छ । नेपालसँग प्रचण्डले बिहीबार पनि भेटेका थिए । उनले समाजवादी मोर्चालाई सक्रिय बनाइने पनि बताए । आउँदो माघ २ गते मोर्चाको बैठक बोलाइएको उनले जानकारी दिए । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको र नेताहरुले नै सत्ता–सहकार्यको भविष्यबारे टिप्पणी गर्न थालेपछि प्रचण्डले राजनीतिक सक्रियता बढाएका छन् ।
तीन नेताको भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा यो सरकार फेल हुने बेला भइसकेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” । यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ओलीले ०८७ सालसम्म कार्यकाल लम्ब्याउने र चुनाव नगराउने खेल खेल्नसक्ने आशंका गरेका छन् । ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन् । संसद नै भंग गर्ने मान्छेहरु हुन्, अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा माधव नेपालको सक्रियतामा यी भेटवार्ता भएको बताईन्छ । सत्ता साझेदार दल कांग्रेस र एमालेमा खटपट पैदा भएको भन्ने हल्लाकै बीचमा यसरी विपक्षी दलका नेताहरु तारन्तार भेट्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन सिंहदरबार पुगेका थिए । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।