नेपालमा पूर्ण प्रजातन्त्र सपनामा मात्र सीमित भयोःपूर्वराजा ज्ञानेन्द्र

नेपाल दर्पण, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको वर्तमान अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन । उनले नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित भएको बताएका छन् । ‘प्रजातन्त्र भनेको आम मानिसको जीवनपद्धति हो’, करिब पौने १२ मिनेटको भिडियो सन्देशमा उनले भनेका छन्, हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ भनेर सोच्नुपर्ने अवस्थामा छ । ‘हामी पराधीनता, परनिर्भरता र आत्मग्लानिको दिशातिर बढ्दै जानु बिडम्बना हो । हाम्रो स्रोत र साधन, श्रम र सिप देशको विकासमा पूर्णरूपमा उपयोग भएको छैन ।’

पूर्वराजा शाहले जनशक्ति निरन्तर विदेशिरहेकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ’, उनले भनेका छन् । हाम्रो भौगोलिक र सामाजिक बनोटको आधारमा आफ्नो मूल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्यपद्धति कायम गर्दै जानुपर्ने धारणा राखेका छन् । ‘नेपाल कसैको रणमैदान होइन उनले भनेका छन्, ‘हामी सबैको शान्तिथलो बनाउनुपर्छ ।’

पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले आम नागरिकको सुरक्षा, न्याय, गाँस–बास–कपास, शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रतालाई मात्र पूर्ण प्रजातन्त्र मान्न सकिने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले राष्ट्रनिर्माण र आन्तरिक एकता कामय राख्ने पृथ्वीनारायणको मौलिक मार्गनिर्देशन हुँदाहुँदै परायाद्वारा सिर्जित वादविवादको चक्रव्यूहमा फस्नु गलत भएको तर्क गरेका छन् । उनले पृथ्वीनारायणको ‘दिव्योपदेश’ आत्मसात गरे मात्र नेपाल विश्वमै समुन्नत बन्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *