६ महिना अभियान र ६ महिना तयारीपछि महाधिवेशन गर्ने माओवादीको निर्णय
नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक समापन भएको छ । गत पुस २१ गतेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि एक सयभन्दा धेरै सदस्यहरुले धारणा राखेका थिए । प्रचण्डले पेश गरेको प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको हो । समिति बैठकले अब पहिलो छ महिना पार्टी अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।
छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने पार्टी अध्यक्ष प्रचण्डले घोषण गरेका छन् । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने जनाइएको छ। माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको हो । बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिए ।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिएका थिए ।