तिब्बतको दिङ्गीमा गएको भूकम्पले हल्लायो नेपाल

नेपाल दर्पण, काठमाडौं ।

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६ ः ५० बजे गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंलागत धेरै जिल्लामा महसुस भएको छ । भूकम्पको केन्द्रविन्दु सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर रहेको थियो । भूकम्पले लामो समय हल्लाएको छ । “काठमाडौंमा २० देखि २५ सेकेन्डसम्म हल्लाएको छ,” भूकम्पविद् लोकविजय अधिकारीले भने, “ठाउँमा अनुसार लामो र छोटो समय हल्लाउने हुन्छ ।” बलियो भूगोल भएको ठाउँमा छोटो समय र कमजोर धरातल भएको ठाउँमा लामो समय हल्लाउने उनको भनाइ छ । जति धेरै समय हल्लायो त्यति नै क्षतिको सम्भावना उच्च हुने उनी बताउँछन् ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले भने नेपालमा उक्त भूकम्पका कारण मानवीय क्षति नभएको जानकारी गराएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *