रबिलाई बेकसूर साबित गर्न ओली, प्रचण्ड र प्रहरी प्रमुखको भिडीयो प्रस्तुत

नेपाल दर्पण, काठमाडौं ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट उनका कानुन व्यवसायीहरुले जिल्ला अदालत कास्कीमा बहस गरेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मंगलबारदेखि जारी छ । यसअघि सरकारी वकिलले गरेको तर्कलाई खारेज गर्नुपर्ने माग गर्दै सोहीअनुसार आदेश भए न्याय मर्ने तर्क कानुन व्यवसायीले गरेका छन् ।

लामिछानेका तर्फबाट बहसका लागि पोखरा पुगेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार वरिष्ठ अघिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्तलगायतले बहस गरेका थिए । उनीहरुले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख वसन्त कुँवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पनि प्रस्तुत गर्दै राज्यले नियतवश लामिछानेलाई थुनिरहेको बताएका थिए । उनले राज्यको नियत नै खराब रहेको तर्क गर्दैै लामिछानेलाई छाड्नुपर्ने तर्क राखेका थिए ।

थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *