प्रधानमन्त्रीले घुस खान दिन्न भनेपनि कर्मचारीले खाएकै छन, जनताले दिएकै छनःसञ्चारमन्त्री
नेपाल दर्पण, काठमाडौं ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले घुस खान दिन्न भने पनि जनताले घुस दिइरहनु परेको दाबी गरेका छन् । दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन परिरहेको बताएका हुन् ।
प्रधानमन्त्रीले कति दिन देखि भन्नुभएको छ, म पनि घुस खान्न अरूलाई नि खान दिन्न,’ मन्त्री गुरुङले भने, ‘तलका अवयवहरूले घुस खाइरहेकै छन् । जनताले घुस दिन परिरहेकै छ ।’ घुस दिन परे नपरेको कुरा जनतालाई थाहा भएको पनि मन्त्री गुरुङले बताए । उनले भने, ‘जनतालाई थाहा छ नि ! ठुलो मान्छेलाई के थाहा ? मैले घुस खाएँ भनेर कोही भन्न आउँदैन ।’ जनतालाई प्रधानमन्त्रीकहाँ भन्न जान पनि पहुँचको समस्या रहेको उनले बताए । ‘जनतालाई मैले फलानालाई घुस दिएँ भन्ने पहुँच नै छैन प्रधानमन्त्री कहाँ । हाम्रो पद्धति यस्तो छ, सामान्य मान्छे भेट्नै पाउँदैन प्रधानमन्त्रीलाई,’ मन्त्री गुरुङले भने ।
कहिलेकाहीँ प्रधानमन्त्री जिल्ला तिर जाँदा पनि के हुन्छ थाहा छ ?,’ उनले भने, ‘मै जस्ता कार्यकर्ताले घेरेर आमजनतालाई भेट्नै दिँदैनौँ । कहाँ हुन्छ त्यो कांग्रेसलाई भोट हाल्ने वाला हो, माओवादीलाई भोट हाल्ने वाला हो, त्यो हामीलाई कहिल्यै कहिल्यै हाल्ने वाला हो । यस्तरी छिचोल्दिन्छौ ।’ जनताको खास कुरामा राज्यको पहुँच नै हुन नसकेको मन्त्री गुरुङले बताए ।
साथै, उनले आफूले वर्तमान सरकारको मन्त्रीको रुपमा पाँच महिना बस्दा सबैभन्दा ठूलो समस्या सुशासन पाएको बताए । मन्त्री गुरुङले देशमा सुशासन नभएको र सबैतिर अस्तव्यस्त र भद्रगोल तरिकाले चलिरहेको बताए । ‘मैले पाँच महिना काम गर्दा हाम्रो सबैभन्दा ठूलो समस्या भनेको सुशासनको समस्या छ । सुशासन भयो भने पुँजीगत खर्च पनि बढिहाल्छ । उत्पादन पनि बढिहाल्छ, भ्रष्टाचार पनि नियन्त्रणमा आइहाल्छ । सबैभन्दा ठूलो समस्या भनेको सुशासन हो । सुशासन नै छैन । सबै ठाउँमा अस्तव्यस्त र भद्रगोल छ । सुशासनका जे–जे आयमहरु छन्, त्यसलाई राम्रोसँग समातेर गइयो भने अहिलेका समस्याहरु समाधान हुनथाल्छन्,’– उनले भने ।