रवि लामिछानेविना रास्वपाको दुई दिने केन्द्रीय समितिको बैठक शुरु
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । सभापति रवि लामिछानेको उपस्थितिविनै सुरु भएको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारी सम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल हुनेछ । बैठक काठमाडौंको स्वयम्भूस्थित एक ब्याङ्क्वेटमा बिहान ८ बजे बैठक शुरु भएको हो ।
शनिबार र आइतबार बस्ने केन्द्रीय समिति बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले रहेका छन् ।