प्रचण्ड र रवि लामिछाने कांग्रेस–एमालेको अगाडी कमिला हुनः केपी ओली
नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताए ।
यस्तै अर्को प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाउने गरिएको र सो प्रवृत्ति प्रचण्ड–रवि सरकारमा पनि देखिएको बताए । उनले तत्कालीन समयमा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि राजाले थुनामा राखेको प्रसंग उल्लेख गर्दे भने, ‘पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाइन्थ्यो । यो कुरा अस्ती प्रचण्ड–रविवाला सरकार हुँदा पनि त्यस्तै उनीहरुले दोहोर्याउन खोजे ।’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शाही राजाहरुको जस्तै गल्ती दोहोर्याउन खोजेको बताए ।
साथै, उनले प्रचण्ड–लामिछानेलाई कमिलाको संज्ञा दिए । उनले कमिलाका समय सिद्धिएर पखेटा पलाएको र आकाशमा उड्न थालेपछि कांग्रेस–एमाले मिलेको बताए । उनले भने, ‘कमिलाको समय सिद्धियो भने पखेटा पलाउँछ । अनि प्वालबाट निस्किएर फ्टफ्याट उड्छ, माथि चरो हुन्छ । हुलै चाराहरु आएर टप्पटप्प पार्छन् । यिनीहरुले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले । अस्थिरता, अन्यौता, भ्रष्टाचारको कुनै सीमा रहेन । एमालेजस्तो पार्टी, कांग्रेसजस्तो पार्टी हुँदाहुँदै कसको के नाँच यो ? जनताले भन्न थाले । त्यसपछि हामीले यो साह्रै भएर सच्याउनुपर्यो भनेर अहिलेको संयुक्त सरकार बनाायौं ।’
“हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ”, प्रधानमन्त्री ओलीले भने, “नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताए। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उनले सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए । “मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन”, उनले भने ।