‘प्रचण्ड’ले सुरु गरेको वाम एकता निश्कर्षविहीन, माधव र विप्लवको बाटो अलगै
नेपाल दर्पण, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादीसँग एकता नगर्ने बताएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरु गरेको वाम एकता अभियान निश्कर्षविहीन हुने भएको छ । प्रचण्डले जोडबलका साथ दुइ दल नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गर्न अघि सरेका थिए ।
पार्टी एकताका लागि माओवादी प्रचण्ड र माधव नेपालबीच पटक–पटक छलफल भएको थियो ।
पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष जगन्नाथ खतिवडा र नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेण्ड छोडेका छन् । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले कुनै पनि दलसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी उपाध्यक्ष खतिवडाका अनुसार एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । प्रचण्डले एकीकृत समाजवादीको १० ओैं महाधिवेशनमै पार्टी एकताको प्रक्रियामा रहेकोसमेत जानकारी गराएका थिए ।
त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि माओवादीसँग एकताको सम्भावना टरेको निश्कर्ष निकालेको छ । नेकपाको केन्द्रीय समिति बैठकले अब माओवादीसँग एकताको पहल नगर्ने निणर्य गरेको छ । नेकपाको सो बैठकले प्रचण्ड नै एकताविरोधी बनेको निश्कर्ष निकालेको छ । यसअघि प्रचण्डले एकताका लागि विप्लवसँग पटक–पटक छलफल गरेका थिए । उनले एकताअघि सहयात्राको लागि समाजवादी मोर्चासमेत बनाएका थिए । अहिले उक्त समाजवादी मोर्चा पनि चर्चामा छैन । एकताको मोर्चामा रहेको दुई प्रमुख घटकहरु एकताको विपक्षमा उभिइसहेका छन् ।