रवि लामिछानेको हिरासत ४ दिन थपियो
नेपाल दर्पण, काठमाडौं ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
यसअघि, अदालतले मंसिर २७ गते उनलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो ।
सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।