रविमाथि अनुसन्धान सकियो, थुनामुक्त गर्ने/नगर्ने भन्ने टुंगो लाग्न बाँकी

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन र प्रमाणका आधारमा कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारेमा अध्यायन र निर्क्यौल हुनै बाँकी रहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बताएको छ ।

लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेको दुई महिनामा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिललाई बुझाएको हो । यसबीचमा उनलाई रुपन्देही, काठमाडौँ, पर्सा, चितवन लगेर बयान लिइएको थियो । अब सरकारी वकिल कार्यालयले सजायको माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्नेछ । मुद्दा दायरपछि थुनछेक बहस हुनेछ । जसले लामिछाने सहितका आरोपीलाई थुनाबाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नता रहेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको बेलामा सहकारीबाट पैसा लानमा भूमिका निर्वाह गरेको र सो पैसा अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ पनि हिरासतमा नै छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइ प्रहरीले प्रतिवेदन पेश गरेको हो ।

सो कसुरका मुख्य नाइके भनिएको गितेन्द्रबाबु राई भने फरार छन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *