NPL: बाहिरियो लुम्बिनी, जनकपुर-सुदूरपश्चिम शिर्षमा, चितवन र कर्णाली तेस्रो चौथो
नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ । काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी एनपीएल–२०२४ को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।
प्रतियोगितामा छैटौँ खेल खेलेको लुम्बिनीको यो पाँचौँ हार हो । लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी एनपीएलमा प्लेअफको यात्राबाट बाहिरिने लुम्बिनी पहिलो टिम हो । लुम्बिनी औपचारिक रुपमानै बाहिरिसक्दा अन्य टिमको भने सम्भावना कायमै छ ।
हालसम्म समान ५ खेल खेलेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले समान ४ जित र एक हार ब्यहोरेका छन् । समान ८ अंक नै भएपनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा जनकपुर दोस्रो स्थानमा छ । अब जनकपुरले काठमाडौं र चितवनसँग खेल्न बाँकी रहेको छ भने सुदूरले कर्णाली र पोखरासँग खेल्न बाँकी रहेको । अहिलेकै अवस्थामा सुदूर र जनकपुरले शीर्ष चारमा रहँदा अगाडि बढ्ने सम्भावना बलियो बनाएका छन् । खेल्न बाँकी २ मध्ये एक खेलमा जित निकालेपनि यी दुवै टिम अघिल्लो चरणमा पुग्नेछन् भने दुवै खेल हारे अन्य टिमको नजितामा भर पर्नुपर्ने हुन्छ ।
५ खेल खेलेर समान ६ अंक जोडेका चितवन राइनोज र कर्णाली याक्स क्रमस तेस्रो र चौथो स्थानमा छन् । यी दुवै टिमले अब समान २ खेल्न बाँकी छ । दुईमा एक खेल जितेमा दुवै टिमको अघि बढ्ने सम्भावना बलियो बन्नेछ । ४ खेल खेलेर ४ अंक जोडेको काठमाडौं पाँचौ स्थानमा छ । काठमाडौंले अब तीन खेल खेल्न बाँकी छ ।खेल्न् बाँकी तीन मध्ये कम्तिमा पनि दुई खेल जितेमा मात्र काठमाडौं अघिबढ्न सक्छ । लुम्बिनी, पोखरा र विराटनगर क्रमस छैठौं,सातौ र आठौं स्थानमा छन् । लुम्बिनी उपाधि होडबाट बाहिरि सकेको छ भने यी दुवै टिमको पनि प्लेअफ सम्भावना न्यून देखिन्छ ।