रविमाथि अमानवीय व्यवहारः मानवअधिकार आयोगमा बयान दिन पुगे AIG र DIG

नेपाल दर्पण, काठमाडौं ।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । आयोगले लामिछानेलाई चितवनबाट कास्की लैजानेक्रममा अमानवीय व्यवहार भएको उजुरीपछि प्रहरीका उच्च अधिकारीलाई बोलाएर अनुसन्धान थालेको हो ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लगिएको थियो । सोही क्रममा अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको भन्दै रविपत्नी निकिताले आयोगमा उजुरी दिएकी थिइन् । उक्त विषयमा अनुसन्धान थालेको आयोगले आज प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङसहितका प्रहरी उच्च अधिकारीसँग जानकारी लिएको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई जारी राखेको आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले बताए ।

आयोगले सोमबार रविमाथि भएको व्यवहारबारे छलफल गर्न नेपाल प्रहरीका प्रहरीप्रमुख आईजीपी बसन्त कुँवरलाई बोलाएको थियो । तर, कुँवरले आफू नगएर एआईजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीलाई पठाएका छन् । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बयान दिएका छन् । दुर्व्यवहार गरेर चितवनबाट पोखरा लगिएको भन्ने आरोपका बारेमा प्रहरीका उच्च अधिकारीसँगको छलफल पर्याप्त नभएको भन्दै त्यसबारे महानिरीक्षकसँग नै छलफल गर्ने आयोगले तयारी गरेको स्रोतको भनाइ छ ।

सो क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *